काठमाडौं, फागुन 2 — महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसरमा आज भव्य शोभायात्रा आयोजना गरिएको छ। पशुपति क्षेत्र विकास कोषको आयोजनामा सम्पन्न शोभायात्रामा स्वदेश तथा विदेशबाट आएका साधुसन्त, विभिन्न अखडा तथा स्थानीय भक्तजनको उल्लेखनीय सहभागिता रहेको थियो।
शोभायात्रा पाशुपत क्षेत्रका प्रायः सबै भागमा परिक्रमा गर्दै सम्पन्न भएको थियो। कार्यक्रममा परम्परागत बाजागाजा, भजन–कीर्तन तथा धामीझाँक्रीको प्रस्तुति आकर्षणको केन्द्र बनेका थिए। सहभागीहरूले भगवान शिवको स्तुति गर्दै धार्मिक वातावरण झन् उल्लासमय बनाएका थिए।भोलि मनाइने महाशिवरात्रि पर्वलाई लक्षित गर्दै कोषले भक्तजनलाई सहज र व्यवस्थित रूपमा दर्शन गराउन आवश्यक सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ। सरसफाइ, सुरक्षा व्यवस्थापन, लाइन व्यवस्थापन तथा स्वास्थ्य सेवासहितका प्रबन्ध मिलाइएको कोषले जानकारी दिएको छ।
महाशिवरात्रि पर्वका अवसरमा लाखौँ श्रद्धालु पाशुपत क्षेत्रमा दर्शनका लागि आउने अपेक्षा गरिएको छ।