मास मिडिया संवादाता (काठमाडौँ)– लामो दूरीका सबै गाडी अब निर्धारित बसपार्कबाटै मात्र छुट्ने व्यवस्था लागू गरिएको छ। यात्रुवाहक सेवालाई व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन स्थानीय तह तथा सम्बन्धित निकायको समन्वयमा नयाँ प्रणाली लागू भएको हो। अब कुनै पनि लामो दूरीका बस, माइक्रो वा अन्य सार्वजनिक गाडीले सडकछेउ, चौक–चौराहा वा अनधिकृत स्थानबाट यात्रा सुरु गर्न पाउने छैनन्, जसले जाम, अव्यवस्था र दुर्घटना जोखिम घटाउने अपेक्षा गरिएको छ।
उपत्यकामा दिनहुँ बढिरहेको ट्राफिक जामलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने उद्देश्यले यो नयाँ व्यवस्था लागू गरिएको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार अनधिकृत स्थानमा रोकिने, सडकमै यात्रु चढाउने–उतार्ने जस्ता गतिविधिले जाम चर्काउने भएकाले अब सबै लामो दूरीका गाडी निर्धारित बसपार्कबाटै छुट्नुपर्नेछ, र नियम उल्लंघन भएकामा कडाभन्दा कडा कारबाही गरिनेछ।