नेसनल प्याब्सन काठमाडौँद्वारा एसईई तथा उत्कृष्ट शिक्षक सम्मान कार्यक्रम २०८२ भव्यतापूर्वक सम्पन्न

एमएमआई संवादाता (काठमाडौँ)– नेसनल प्याब्सन काठमाडौँ जिल्ला कार्यसमितिद्वारा आयोजित एसईई तथा उत्कृष्ट शिक्षक सम्मान कार्यक्रम २०८२ अत्यन्त भव्य र गरिमामय रूपमा सम्पन्न भएको छ। काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा सम्पन्न उक्त विशेष समारोहमा एसईई परीक्षामा उल्लेखनीय सफलता हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिनुका साथै शिक्षण क्षेत्रमा समर्पित भई निरन्तर उत्कृष्ट योगदान पुर्‍याउने शिक्षकहरूलाई समेत विशेष रूपमा सम्मान गरिएको थियो।


नेसनल प्याब्सन काठमाडौँका अध्यक्ष तथा भिमेश्वर एकेडेमीका प्रिन्सिपल अमृत खड्काको सभापतित्वमा आयोजित सम्मान कार्यक्रमलाई अझ विशेष बनाउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय रघुजी पन्त प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो। मन्त्री पन्तले कार्यक्रममा शिक्षा क्षेत्रको गुणस्तर सुधार, निजी विद्यालयहरूको भूमिका र शिक्षकहरूको योगदानबारे महत्वपूर्ण मन्तव्य व्यक्त गर्नुभयो। उहाँको उपस्थिति र प्रेरणादायी सम्बोधनले कार्यक्रममा उत्साह थप्नुका साथै शिक्षा क्षेत्रमा समर्पित शिक्षक, अभिभावक र विद्यार्थीहरूलाई अझ जिम्मेवार र प्रेरित बनाएको थियो।


कार्यक्रममा नेसनल प्याब्सन काठमाडौँका सदस्य रहेका दर्जनौँ निजी विद्यालयहरूबाट एसईई परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने टपर विद्यार्थीहरूलाई विशेष रूपमा सम्मान गरिएको थियो। विभिन्न विद्यालयका होनहार विद्यार्थीहरूले प्राप्त गरेको सफलतालाई मूल्यांकन गर्दै खादा, दोसल्ला र प्रमाणपत्र प्रदान गरि विशेष सम्मान गरिएको हो । यस सम्मानले उनीहरूको शैक्षिक यात्रामा थप प्रेरणा प्रदान गरेको छ। विद्यार्थीहरूको कडा मेहनत र प्रतिबद्धतालाई सार्वजनिक रूपमा कदर गर्नुको साथै आगामी पुस्तालाई उत्कृष्टताको मार्गतर्फ उन्मुख गराउने उद्देश्यले गरिएको यो सम्मान कार्यक्रम अत्यन्तै प्रेरणादायी बनेको थियो।


४।० जिपिए ल्याउने एउटै विद्यालयका धेरै विद्यार्थीहरू सम्मानित हुनुले शिक्षा क्षेत्रको गुणस्तरमा उल्लेखनीय सुधार भएको स्पष्ट संकेत भएको अतिथि वक्ताहरूले कार्यक्रममा बताएका छन्। उनीहरूले विद्यालयहरूको शैक्षिक नेतृत्व, शिक्षकहरूको मेहनत र विद्यार्थीहरूको लगनशीलतालाई यस उपलब्धिको मूल स्रोत मानेका थिए। यस्तो सकारात्मक परिणामले निजी विद्यालयहरूको प्रतिबद्धता र दक्षता झल्काउँदछ भन्दै वक्ताहरूले यस्ता सम्मान कार्यक्रमहरू अझै व्यापक रूपमा आयोजना गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।


कार्यक्रमका सभापति तथा नेसनल प्याब्सन काठमाडौँका अध्यक्ष अमृत खड्काले निजि विद्यालयहरूलाई पेल्ने गरी ल्याउन खोजिएको शिक्षा विधेयकप्रति गम्भीर आपत्ति जनाउँदै यस्तो विधेयक नेसनल प्याब्सनलाई किमार्थ स्वीकार्य नहुने स्पष्ट धारणा व्यक्त गर्नुभयो। उहाँले नयाँ शिक्षा ऐनमा प्रस्तावित १५ प्रतिशत आवासीय सुविधा सहितको छात्रवृत्ति लागू गर्ने बाध्यात्मक व्यवस्था विद्यालयहरूको स्वायत्तता र संचालन क्षमतामाथि प्रत्यक्ष हस्तक्षेप हुने बताउँदै त्यसले निजी क्षेत्रलाई हतोत्साहित मात्र नभई शिक्षाको समग्र गुणस्तरमै नकारात्मक असर पार्ने चेतावनी दिनुभयो।


उहाँले शिक्षालाई सुधार गर्ने नाममा निजी विद्यालयहरूको अधिकार खोस्ने र जबर्जस्ती नीति थोपर्ने प्रयास अस्वीकार्य रहेको भन्दै शिक्षा क्षेत्रमा राज्य र निजी क्षेत्रबीच सहकार्य, संवाद र समन्वयको खाँचो रहेको औंल्याउनु भयो। सभापति खड्काले वर्तमान अवस्थामा निजी विद्यालयहरूले पुर्‍याइरहेको योगदानलाई बेवास्ता गर्दै एकतर्फी नीतिगत निर्णय ल्याइनु दुर्भाग्यपूर्ण भएको भन्दै विद्यार्थीको भविष्यलाई केन्द्रमा राखी जिम्मेवार शिक्षा नीति बनाउन सरकारसँग आग्रह गर्नुभयो।


कार्यक्रम निजी विद्यालयहरूको सफलता, समर्पण र एकताको उत्सवजस्तै बनेको थियो, जहाँ सहभागीहरूको उत्साह र गर्व झल्किन्थ्यो। दर्जनौँ सञ्चारमाध्यमद्वारा प्रत्यक्ष रूपमा मिडिया कभरेज गरिएको उक्त भव्य कार्यक्रममा प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षा क्षेत्रले अझै पूरा गर्न नसकेका महत्त्वपूर्ण कार्यप्रति चिन्ता व्यक्त गर्दै सुधारका लागि साझा प्रयासको आवश्यकता औँल्याउनुभयो। उहाँले वर्तमान विश्वमा कृत्रिम बुद्धिमत्ता ९एआई० को तीव्र विकासले सिर्जना गरेका चुनौतीहरूको उल्लेख गर्दै, नयाँ पुस्ताले केवल जागिर खोज्ने होइन, स्वरोजगार सिर्जना गर्ने क्षमतासमेत विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। मन्त्री पन्तले शिक्षालाई रोजगारीमूलक र व्यवहारिक बनाउनुपर्नेमा जोड दिँदै, निजी विद्यालयहरूको भूमिकाको उच्च मूल्यांकन गर्नुभयो, जसले कार्यक्रमलाई अझ अर्थपूर्ण र प्रेरणादायी बनाएको थियो।




प्रतिक्रिया