मुस्लिम समुदायद्वारा आज हर्षोल्लासका साथ 'इद उल फित्र' पर्व मनाउँदै

काठमाडौँ । काठमाडौँको घण्टाघरस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिद लगायत देशभरका मस्जिद र इदगाहहरूमा शनिबार बिहान विशेष नमाज पाठ गरिँदैछ। नमाज पाठपश्चात् तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिने र सानालाई आशीर्वाद दिने परम्परा छ। आशीर्वाद लिन आउने आफन्त तथा इष्टमित्रलाई सेवई, खजुरलगायतका मीठा खानेकुरा खुवाउने चलन छ। यस दिन मुस्लिम समुदायले नयाँ कपडा लगाएर साथीभाइसँग इदको शुभकामना आदानप्रदान गर्दछन्। अरबी पात्रो हिजरी संवत्‌अनुसार एक महिना लामो निराहार व्रत (रोजा) पूरा गरेको खुसीयालीमा देशभरका मुस्लिम समुदायले  आज शनिबार विशेष नमाज पाठ गरी, ठूलाबडाबाट आशीर्वाद लिएर आफ्नो महान् पर्व 'इद उल फित्र' मनाउँदै छन् ।

मुस्लिम धर्मावलम्बी एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारका अनुसार, अरबी पात्रोको नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने दिन तय हुन्छ। एक वर्षभित्र गरेका पाप पखालिने धार्मिक विश्वासका साथ विगत एक महिनादेखि सूर्योदयदेखि सूर्यास्त नहुने बेलासम्म मुस्लिम समुदाय रोजा (व्रत) बसेका थिए। यस पर्वको सबैभन्दा उल्लेखनीय र अनिवार्य पक्ष दिनदुःखी र गरिबलाई दान दिनु हो। खुसीपूर्वक दान गरेर गरिबलाई बाँडिने भएकाले नै यो पर्वलाई इद उल फित्र भनिएको हो। 

मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख भएअनुसार, यस पर्वमा हरेक व्यक्तिले एक वर्षभित्रको आफ्नो बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान छ, जसलाई 'जकात' भनिन्छ। यसैगरी, प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद पनि दान गर्छन्, जसलाई 'सत्कार फितर' (फित्रा) भनिन्छ। फित्रा आमाको पेटमा रहेको बच्चाको नामबाट समेत निकाल्नुपर्ने कडा नियम रहेको छ। यसरी सङ्कलन गरिएको सबै दान गरिब तथा दिनदुःखीलाई नै बाँडिन्छ।

प्रतिक्रिया