काठमाडौं, असार ३२ – माधव कुमार नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबिच एकता भएको छ । नेपाली राजनीतिमा लामो समयदेखि क्रियाशील वामदेव गौतमले फेरि पनि आफूले नेतृत्व लिएको कुनै पनि आन्दोलन असफल नहुने दाबी गर्दै समाजवाद निर्माणका लागि नयाँ संकल्प लिएका छन्। नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानबीच भएको एकताले उनको चार वर्ष लामो प्रयासलाई साकार बनाएको छ। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै संयोजक गौतमले आवश्यक परे आफैं हतियार बन्न सक्ने चेतावनीसमेत दिए। "म आन्दोलनको व्यक्ति हुँ, नेता हुँ। मैले जिम्मा लिएको आन्दोलन असफल भएको छैन," भन्दै उनले समाजवाद निर्माणका लागि आफू अझै पनि तयार रहेको जनाए। उनले आफ्नो योजनाअनुसार नेपालमै १२ सय खर्ब रुपैयाँ बराबरको सम्पत्ति निर्माण सम्भव रहेको र त्यसले समाजवादको आधार तयार पार्ने बताए।
गौतमले चार वर्षअघि नै नेकपा (एकीकृत समाजवादी) सँग एकता गर्न चाहेको भए पनि त्यो सम्भव हुन नसकेको बताउँदै आजको दिन आफू अत्यन्त खुशी भएको सुनाए। उनले भावुक हुँदै भने, “मैले भने जसरी एकता भएको छ।” लामो संघर्षपछि प्राप्त यो एकतालाई उनले समाजवाद निर्माणको नयाँ ढोका खुलेको संकेतको रूपमा व्याख्या गरे। व्यक्तिगत संघर्ष र सीमित औपचारिक शिक्षाका बाबजुद आफूले राजनीतिमा पुर्याएको योगदानलाई स्मरण गर्दै उनले भने, “मैले एसएलसी बल्लबल्ल थर्ड डिभिजनमा पास गरे पनि आज ब्रह्माण्डमै विचरण गर्छु।” उनले आफ्ना विचार अब क्वान्टम सिद्धान्तसम्म पुगिसकेको भन्दै, अगाडि बढ्न आफू अझै संकल्पबद्ध रहेको बताए। गौतमले अन्त्यमा दुई प्रमुख लक्ष्य पुनः दोहोर्याए – पहिलो, राजतन्त्रको अन्त्य जुन उनी अगाडि बढाइसकेका छन्, र दोस्रो, कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्दै एउटै शक्तिशाली पार्टीमा परिणत गर्ने। आजको एकता घोषणा कार्यक्रममा अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाललगायत दुवै पक्षका नेता–कार्यकर्ताहरूको सहभागिता रहेको थियो, जसले नेपाली वाम आन्दोलनमा नयाँ ऊर्जा थपेको छ।