गायक तथा अभिनेता प्रशान्त तामाङको निधन, दिवंगत तामाङप्रति हार्दिक श्रद्धाञ्जली

मास मिडिया संवादाता (काठमाडौँ)– प्रसिद्ध नेपाली–भारतीय गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको खबरले नेपाली तथा भारतीय मनोरञ्जन जगतलाई स्तब्ध बनाएको छ। इन्डियन आइडल सिजन ३ का विजेता तामाङको निधन भारतको दिल्लीस्थित निवासमा भएको बताइएको छ। उनको निधनको खबर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा शोक सन्देशको ओइरो लागेको छ भने संगीतप्रेमी, कलाकार तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। सरल स्वभाव र प्रेरणादायी जीवनका कारण उनी सधैं दर्शक–श्रोताको मनमा बस्न सफल भएका थिए।

दार्जिलिङमा जन्मिएका प्रशान्त तामाङले सुरुवाती दिनमा भारतीय प्रहरी सेवामा रहेर पनि संगीतप्रतिको आफ्नो सपना जीवित राखे। मेहनत, लगनशीलता र जनसमर्थनको बलमा उनले इन्डियन आइडलको उपाधि जित्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाली समुदायको पहिचान स्थापित गरेका थिए। नेपाली भाषा र संगीतलाई विश्वमञ्चमा चिनाउन उनले खेलेको भूमिका महत्वपूर्ण मानिन्छ। उनको असामयिक निधनले नेपाली संगीत तथा चलचित्र क्षेत्रमा अपूरणीय क्षति पुगेको छ, र उनी सधैं आफ्ना गीत, योगदान र प्रेरणादायी यात्राका कारण सम्झिइरहनेछन्। 

प्रतिक्रिया