MMI संवादाता- पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक,माधवकुमार नेपालले “जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री” प्रणालीलाई अस्वीकार गर्ने स्पष्ट धारणा सार्वजनिक गरेका छन्। उनले यस्तो प्रणालीले लोकतन्त्रलाई सुदृढ गर्ने होइन, बरु एक व्यक्तिमा सत्ता केन्द्रित गरी तानाशाही शासन जन्माउने खतरा हुने बताएका छन्। नेपालले फिलिपिन्स र अन्य केही देशका उदाहरण दिँदै भने, “त्यहाँ प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीका कारण तानाशाही शासन उत्पन्न भयो, हाम्रो जस्तो विविधतायुक्त समाजमा यस्तो प्रयोग विनाशकारी हुन सक्छ।” उनका अनुसार नेपालको वर्तमान संसदीय शासन प्रणालीले जनप्रतिनिधिमार्फत् सन्तुलन र सहकार्यको संस्कृतिलाई बलियो बनाउने काम गरेको छ, त्यसैले त्यसलाई कमजोर पार्ने कुनै प्रयोग जनताका हितमा हुँदैन।
नेपालले हालका केही नयाँ पुस्ता, विशेषगरी, जेन–जी पुस्ताले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री प्रणालीको माग गर्दै आएको प्रसङ्गलाई पनि सम्बोधन गर्दै भने, “नयाँ पुस्ताले परिवर्तन चाहनु राम्रो हो, तर परिवर्तन विवेकपूर्ण हुनुपर्छ।” उनका अनुसार भावनामा बगेर प्रणाली परिवर्तन गर्न खोज्नु देशको राजनीतिक स्थायित्वका लागि घातक हुन सक्छ। उनले संविधानले दिएको संसदीय व्यवस्थालाई सुदृढ पार्न, पार्टी प्रणालीमा सुधार गर्न र सुशासन सुनिश्चित गर्न सबै राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा जोड दिए। नेपालले थपे, “हामी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री प्रणाली मान्दैनौं— नेपालमा लोकतन्त्र संस्थागत गर्न यही प्रणाली पर्याप्त छ, सुधारको बाटो यही हो।”