संस्कृत भाषा संरक्षणमा राष्ट्रपतिको विशेष जोड

मास मिडिया संवादाता (काठमाडौँ)–  राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संस्कृत भाषाको सृजनात्मक, ऐतिहासिक र आध्यात्मिक केन्द्र भएको बताएका छन्। १९ औँ विश्व संस्कृत सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाललाई ऋषि–महर्षिहरूको जन्मभूमि, तपोभूमि, यज्ञभूमि र साधनाको भूमि भएको उल्लेख गरे।

उनले महर्षि याज्ञवल्क्यले नेपालकै पवित्र भूमि शुक्ल यजुर्वेदका मन्त्रहरू प्राप्त गरेको, वेदव्यास यहीँ जन्मिएको र वाल्मिकीको जीवन यहीँ बितेको कुरा स्मरण गराए। यी तथ्यहरूले नेपालको माटो संस्कृत सृजनामा योगदान दिने भूमि भएको पुष्टि गर्छन् भन्ने उनको भनाइ थियो।

राष्ट्रपतिले मल्लकाल र शाहकाललाई नेपाली संस्कृत साहित्यको उन्नत युगको रूपमा स्मरण गरे। उनले हजारौँ ग्रन्थहरूको रचना त्यही समयमा भएको र अहिले पनि संस्कृत ग्रन्थहरू लेखिँदै आएको जानकारी दिँदै नेपाल संस्कृतको केवल उद्गम नभई उर्वर भूमि समेत भएको बताए।

संस्कृत भाषा नेपाल र भारतको मात्र नभई विश्वकै साझा सम्पत्ति भएको उनले उल्लेख गरे। उनले सीमांकनका कारण संस्कृतको विस्तारमा बाधा आएको भन्दै चिन्ता व्यक्त गरे। संस्कृतमा रहेको ज्ञान, दर्शन र उपचार विधिहरू विश्वभर खोजिन थालेको बताए।

समापनमा राष्ट्रपतिको भनाइ थियो— नेपालले संस्कृतलाई जोगाउँदै ल्याएको छ। अब यसलाई अझ व्यापक बनाउन शिक्षा, अनुसन्धान र जीवनशैलीमा यसको प्रयोगलाई बढाउन सबै मिलेर लाग्न आवश्यक छ।

प्रतिक्रिया