देशभर बाढीपहिरोले पाँच राजमार्ग पूर्ण अवरुद्ध, चार सडक खण्डमा एकतर्फी आवागमन

एमएमआई संवादाता (काठमाडौँ)– देशभर जारी अविरल वर्षाका कारण शनिबार पाँच प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बाढी र पहिरोका कारण सङ्खुवासभाको कोशी राजमार्ग, रसुवामा चीनको नाका जोड्ने पासाङ ल्हामु राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, रुकुम पश्चिम र डोल्पाको भेरी करिडोरका विभिन्न खण्डमा पूर्ण रूपमा सवारी आवागमन रोकिएको हो। लगातारको वर्षाले सडकको भौतिक संरचना भत्किनुका साथै पहिरोको जोखिम पनि बढेको जनाइएको छ।

यसैबीच गण्डकी र लुम्बिनी प्रदेशका केही सडकहरूमा पहिरो हटाउने कामसँगै एकतर्फी यातायात सञ्चालन गरिएको छ। बागलुङ र गुल्मी भएर जाने कालीगण्डकी करिडोर तथा रोल्पाको शहीद राजमार्गमा सावधानीपूर्वक सवारी साधन सञ्चालन भइरहेको प्रहरीले जानकारी दिएको छ। ती सडक खण्डहरूमा आवश्यक उपकरण र जनशक्ति परिचालन गरी सुरक्षासहित सवारी आवतजावत व्यवस्थापन गरिँदैछ।

प्रहरीका अनुसार अवरुद्ध सडकहरू खुलाउने प्रयास तीव्र रूपमा अगाडि बढाइएको छ। यद्यपि मौसमका कारण उद्धार र मर्मत कार्यमा चुनौती देखिएको छ। प्रहरीले यात्रुहरूलाई यात्रा सुरु गर्नु अघि सम्बन्धित सडकको अवस्थाबारे जानकारी लिन, आवश्यक परेमा वैकल्पिक मार्ग प्रयोग गर्न र जोखिमयुक्त क्षेत्रबाट टाढा रहन अनुरोध गरेको छ। साथै स्थानीय प्रशासन र सुरक्षा निकायले अवस्था सुधार गर्न आवश्यक समन्वय गरिरहेका छन्।

प्रतिक्रिया