काठमाडौँ, ११ चैतः राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीलाई पद तथा गोपनियताको शपथ गराएका छन् ।
राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित रहेका थिए । यसैगरी समारोहमा मन्त्री, नव निर्वाचित सांसद, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित हुनुहुन्थ्यो । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि संसद् बैठक आह्वान गर्ने तयारी भइरहेको छ ।
यसैको तयारीका लागि आज प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले शपथ लिएका हुन । ७८ वर्षका केसीले भोलि बिहीबार ज्येष्ठ सदस्यका रुपमा प्रतिनिधिसभाका नवनिर्वाचित बाँकी २७४ जना सदस्यलाई शपथ गरानेछन् । नयाँ सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्य केसीले संसद् बैठकको अध्यक्षता गर्ने छन्