MMI संवादाता- १८ साउन- संघीय निजामती सेवा विधेयकमा उल्लेख गरिएको 'कुलिङ अफ पिरियड' सम्बन्धी प्रावधानमा संशोधन गर्ने क्रममा अनियमितता भएको आशंकामा गठित संसदीय विशेष छानबिन समितिले आफ्नो प्रतिवेदन सोमबार प्रतिनिधिसभामा बुझाउने तयारी गरेको छ। नेपाली कांग्रेसका सांसद जीवन परियारको सभापतित्वमा गठित समितिले विधेयकको संवैधानिक मर्म कमजोर पार्ने गरी गरिएको संशोधन प्रयासमा जानाजान गरिएको चलखेल रहेको निष्कर्ष निकालेको छ।
समितिले सो विषयमा संलग्न व्यक्तिहरूको भूमिका स्पष्ट पहिचान गरेको बताइएको छ र दोषीहरूलाई कारबाही गर्न सिफारिससमेत गर्ने तयारीमा छ। ‘कुलिङ अफ पिरियड’ लाई निष्प्रभावी बनाएर निश्चित व्यक्तिको लाभका लागि विधेयक संशोधन गरिएको प्रमाण समितिले संकलन गरेको दाबी गरिएको छ। प्रतिवेदनमार्फत नीति निर्माण प्रक्रियामा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न कानुनी सुधारका सुझावहरू पनि समावेश गरिने जनाइएको छ।