घट्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल १ सय ६० रुपैयाँ

एमएमआई संवादाता– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको छ। निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १/१ रुपैयाँले मूल्य घटाएको जानकारी दिएको छ। मूल्य घटाउने निर्णय भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यको आधारमा गरिएको हो।

मूल्य घटेसँगै तीनवटा वर्गअनुसार नयाँ मूल्य निर्धारण गरिएको छ। डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य पहिलो वर्गका लागि १ सय ४५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १ सय ४७ रुपैयाँ, र तेस्रो वर्गका लागि १ सय ४८ रुपैयाँ तय गरिएको छ। त्यस्तै पेट्रोलको मूल्य पहिलो वर्गमा १ सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १ सय ५९ रुपैयाँ, र तेस्रो वर्गमा १ सय ६० रुपैयाँ तोकिएको छ।

यस मूल्य समायोजनसम्बन्धी निर्णय नेपाल आयल निगमको सञ्चालक समितिको मंगलबार बसेको बैठकबाट गरिएको हो। निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार, मूल्य घटाउने निर्णय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको कारण गरिएको हो, जसले उपभोक्तालाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।



प्रतिक्रिया