सामाजिक सुरक्षा कोषमा पाँच वर्षमा उल्लेखनीय प्रगति, कूल योगदान रकम रु ८३ अर्व ६५ करोड संकलन

एमएमआई संवाददाता (काठमाडौं)– सामाजिक सुरक्षा कोषले सबै श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा प्रदान गर्ने लक्ष्यसहित सञ्चालनमा ल्याएका योजनाहरूमा पछिल्लो पाँच वर्षमा उल्लेखनीय प्रगति हासिल गरेको छ। कोषमा आवद्ध रोजगारदाता र श्रमिकको संख्या तीव्र रूपमा बढ्दै गएको छ भने सेवा विस्तार र सुविधाहरूमा पनि महत्वपूर्ण सुधार भएको छ।


आर्थिक वर्ष २०८१/८२ सम्म कोषमा सूचीकृत रोजगारदाताको संख्या २०,९५१ पुगेको छ। त्यस्तै, कुल योगदानकर्ताको संख्या २३,७४,४८६ पुगेको छ, जसमा ६,०१,८२५ औपचारिक क्षेत्र, १७,७१,५३७ वैदेशिक रोजगार र १,१२४ अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिक समावेश छन्। यसै आर्थिक वर्षमा २५ अर्ब ३६ करोड रुपैयाँ योगदान रकम संकलन भई हालसम्म कुल ८३ अर्ब ६५ करोड रुपैयाँ कोषमा जम्मा भएको जानकारी दिइएको छ।

सेवा र सुविधा विस्तार

सामाजिक सुरक्षा योजनामार्फत योगदानकर्ताहरूलाई विभिन्न सेवा सुविधाहरू उपलब्ध गराइएको छ। स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तर्गत १,१०,६९६ जनालाई २ अर्ब १५ करोड रुपैयाँ, दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत ५,९३३ जनालाई २० करोड, आश्रित परिवार सुरक्षा योजना अन्तर्गत ७४५ जनालाई २६ करोड र वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत १,१२,८६८ जनालाई १३ अर्ब १३ करोड रुपैयाँ भुक्तानी गरिएको छ।


दाबी भुक्तानीका सन्दर्भमा चालु आर्थिक वर्षमा मात्र ३ लाख ६२ हजार वटा दाबी भुक्तानी गर्दै ५ अर्ब ८७ करोड रुपैयाँ वितरण गरिएको छ। हालसम्म ७ लाख ५६ हजार वटा दाबी भुक्तानी हुँदै कुल १५ अर्ब ७५ करोड रुपैयाँ वितरण भइसकेको छ।

त्यस्तै, सापटी योजनाअन्तर्गत ३४,०९७ जना योगदानकर्तालाई कुल ७ अर्ब ४ करोड रुपैयाँ भुक्तानी गरिएको छ। विशेष सापटी अन्तर्गत ३४ हजार २० जनालाई ६ अर्ब ९० करोड, घर सापटी अन्तर्गत ६७ जनालाई १३ करोड र शैक्षिक सापटी अन्तर्गत १० जनालाई १ करोड रुपैयाँ उपलब्ध गराइएको छ।

प्रविधि र पहुँच विस्तार

आर्थिक वर्ष २०८१/८२ मा थप २४ वटा स्वास्थ्य संस्थासँग स्वचालित प्रणाली (Dedicated Line) जडान गरी हाल १०७ संस्थामार्फत सेवा प्रवाह भइरहेको छ। वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको लागि १२ वटा वित्तीय संस्थासँग सहकार्यको सम्झौता गरिएको छ, जसले विदेशबाट योगदान रकम संकलनलाई सहज बनाएको छ।

योजनाको दायरा परिवारसम्म

कोषले औपचारिक क्षेत्रका श्रमिकका लागि सामाजिक सुरक्षा योजना कार्यविधिको संशोधन गरी स्वास्थ्य सेवा योगदानकर्ताको परिवारसम्म विस्तार गरेको छ। अस्पतालमा भर्ना भई उपचार गराउनु पर्ने अवस्थामा १ लाखको औषधि उपचार सीमा विस्तार गरी १० लाखसम्मको उपचार खर्चमा ५० प्रतिशत सहभुक्तानी सुविधा समेत उपलब्ध गराइएको छ।

रणनीतिक योजना

कोषले आगामी चार वर्षभित्र श्रमिक र उनीहरूको परिवारको स्वास्थ्य जिम्मा राज्यमार्फत कोषले लिने गरी कार्ययोजना अघि सारेको छ। साथै, श्रमिकको कमाइको एक हिस्सा नियमितरूपमा कट्टी गरी राज्यको संयन्त्रमा राखिने प्रणालीले नयाँ पुस्तामा राज्यप्रति अपनत्वको भावना विकास गर्ने विश्वास लिएको छ। त्यस्तै, कोषमार्फत संकलित रकमलाई आन्तरिक पुँजी परिचालनको माध्यम बनाउँदै राज्यको पूर्वाधार निर्माणमा प्रयोग गर्ने नीतिगत आधार पनि तयार पारिँदैछ।

सामाजिक सुरक्षा कोषले प्रत्येक श्रमिकको आधारभूत सामाजिक सुरक्षाको सुनिश्चितता गर्दै सर्वव्यापी स्वास्थ्य सेवा र पेन्सन प्रणाली विकासका माध्यमबाट दिगो सामाजिक संरक्षणको लक्ष्य अघि बढाएको छ। कोषको कार्यदिशा समग्र श्रम बजार सन्तुलन, उत्पादन र उत्पादकत्व अभिवृद्धिमा केन्द्रित रहेको छ। कोषको दायरा विस्तारसँगै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सबै श्रमिक र नागरिकका लागि पुग्ने गरी काम गरिने विश्वास सामाजिक सुरक्षा कोषले व्यक्त गरेको छ। यस अभियानमा साथ दिने सबै सरोकारवालाप्रति कोषले आभार प्रकट गरेको छ।

प्रतिक्रिया