निर्वाचन आयोगमा कांग्रेसको देउवा पक्ष

मास मिडिया संवादाता (काठमाडौँ)– नेपाली कांग्रेस देउवा पक्षका नेता शेखर कोइरालाले गगन थापा समूह आधिकारिक रूपमा पार्टीबाट अलग भएको नभई चोइटिएर गएको दाबी गरेका छन्। पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगेको संस्थापन पक्षका तर्फबाट बोल्दै उनले केही नेताहरूले हस्ताक्षर संकलन गरी अद्यावधिकका लागि निवेदन दिएको भए पनि ती हस्ताक्षर पछि फिर्ता गरिएको प्रमाण आफूहरूले आयोगमा पेस गरेको बताए।

विशेष अधिवेशन बोलाउने विषयमा बोल्दै कोइरालाले विधानले कुनै व्यक्ति वा पदाधिकारीलाई यस्तो अधिकार नदिएको स्पष्ट पारे। “टुँडिखेलमा गएर कुनै आयुक्तले माघ ६ गते उम्मेदवारी दर्ता हुँदैन भनेर भनेकै भरमा निर्वाचन आयोगलाई मान्य हुन्छ कि हुँदैन भन्ने प्रश्न उठ्छ,” उनले भने, “यहाँ पनि त्यही अवस्था छ। केही साथीहरूले हस्ताक्षर पेस गर्नुभएको छ, तर त्यो फिर्ता भएको प्रमाण हामीले पेस गरेका छौँ।”

कोइरालाले आफूहरू निर्वाचन आयोगसम्म आउनै नपर्ने अवस्था रहेको दाबी गर्दै लोकतान्त्रिक पद्धतिमा कानुनसम्मत प्रक्रिया मात्रै लागू हुने बताए। विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले अधिवेशन माग गर्न सक्ने भए पनि त्यसको कार्यतालिका र सम्पूर्ण प्रक्रिया केन्द्रीय कार्यसमितिले नै तय गर्नुपर्ने उनको भनाइ छ। उनका अनुसार सिङ्गो केन्द्रीय कार्यसमिति निर्वाचन आयोगमै उपस्थित भएको छ।

प्रतिक्रिया