जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

काठमाडौँ, ११ चैतः गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको विषयमा छानविनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सरकारले सार्वजनिक नगर्दै बाहिरिएको छ । सरकारले उक्त प्रतिवेदन सार्वजनिक गर्न आनाकानी गरिरहेको बेला जनआस्था साप्ताहिकले प्रतिवेदन हात पारेर सार्वजनिक गरेको छ । छानबिनका निम्ति पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले आमनिर्वाचन सकिएको तीन दिनपछि फागुन २४ गते प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले तत्काल कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाएकी थिइन् । 
प्रतिवेदन सार्वजनिक गर्न दबाब दिँदै जेनजी समूह र सरोकारवालाहरूले निरन्तर प्रदर्शन गरिरहेका छन् । विभिन्न समूहले हरेक दिन माइतीघर मण्डलामा धर्ना दिइरहेको बेला ९०७ पृष्ठ लामो प्रतिवेदन जनआस्थाले सार्वजनिक गरिदिएको छ । जनआस्थाको अनलाइन संस्करणमा प्रतिवेदनको पूर्णपाठसहित यसका मुख्य अंश प्रकाशित गरेपछि अब भने सरकारले पनि आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रतिक्रिया