लुम्बिनी प्रदेशमा सुसूचित शासनतर्फ कदमः मुख्यमन्त्री ड्यास बोर्डमार्फत योजना निगरानी

MMI- लुम्बिनी प्रदेश सरकारले अब ५० लाख रुपैयाँभन्दा बढी लागतका योजना मुख्यमन्त्री ड्यास बोर्डको माध्यमबाट निगरानी गर्ने तयारी गरेको छ। सूचना तथा सञ्चार प्रविधि परिषद्को बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले विकास योजनाको प्रगति स्पष्ट देखिने प्रणाली निर्माण गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। उहाँले सरकारी काम कारवाही पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन आधुनिक अनुगमन प्रविधि अपनाउनु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

मुख्यमन्त्री आचार्यले किसान एप प्रभावकारी रूपमा लागू गर्न पनि निर्देशन दिनुभएको छ। उहाँले तरकारी बजारको दैनिक मूल्यसूची र गैरकाष्ठ वन पैदावारका मूल्य पनि किसान एपमा समावेश गर्न आवश्यक रहेको बताउनुभयो। यसले किसानहरूलाई जानकारीमा सहज पहुँच पुग्ने उहाँको भनाइ छ।

बैठकमा सूचना प्रविधि सेवा सबै वर्गले उपयोग गर्न सक्ने गरी विस्तार गर्नुपर्नेमा पनि जोड दिइएको छ। कार्यक्रममा प्रमुख सचिव बाबुराम अधिकारीसहित परिषद् सदस्यहरू सहभागी थिए भने कार्यकारी निर्देशक अनुप बास्कोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। डेटा सुरक्षालाई प्राथमिकता दिँदै काम गर्नुपर्ने निर्णय बैठकमा गरिएको छ। #MMI

प्रतिक्रिया