कलंकीमा योमरी पुन्हि धुमधामसित मनाइँदै, नेवाः पुचः येँ द्वारा विशेष सांस्कृतिक प्रदर्शन

मास मिडिया संवादाता (काठमाडौँ)– विशेषगरी नेवार समुदायको महान् पर्व "योमरी पुन्हि" आज कलंकी क्षेत्रमा पनि विशेष उत्साहका साथ मनाइँदैछ। हरेक वर्ष थिंलाथ्व पूर्णिमाका दिन मनाइने यस चाडको प्राचीन सांस्कृतिक महत्त्वसँगै स्वास्थ्य संरक्षणका मान्यताहरू पनि जोडिएका छन्। "कलंकी माँ नेवाः पुचः येँ" को आयोजनामा आज बिहानैदेखि कलंकी मन्दिर परिसरमा धार्मिक कार्यक्रम, नाचगान, सामूहिक भजन, नेवारी सांस्कृतिक प्रस्तुति तथा समुदायिक भेटघाट सुरु भएको छ। सहभागीहरूले नेवारी परम्पराअनुसार धानको भकारी पूजा, देवालय भम्रण र घर–घरमा तयार पारिने योमरीको वितरणका माध्यमबाट समृद्धि, स्वास्थ्य र सौहार्दको कामना गरेका छन्। जाडो बढेसँगै स्वास्थ्य समस्या बढ्ने समय भएकाले योमरी सेवनले शरीरमा ऊर्जामा वृद्धि हुने तथा रोग–व्याधिबाट जोगाउने विश्वास समुदायमा रहेको बताइन्छ।

यस वर्ष काठमाडौँको विभिन्न क्षेत्रहरूबाट पनि यस पर्वलाई भव्य बनाउन सांस्कृतिक जुलुसहरू निकालेका छन्। हाँडीगाउँबाट सुरु भएको मुख्य र्‍याली टंगाल गणेश, नक्साल भगवती, नाग पोखरी, नारायणहिटी, त्रिदेवी मार्ग, असन हुँदै वसन्तपुरमा समापन हुने बताइएको छ। सहभागीहरू नेवारी परम्परागत पोसाक, ढोल–नगारा, धिमे द्यबवब र सांस्कृतिक झाँकीसहित सहभागी भएका छन्, जसले सम्पूर्ण शहरलाई पर्वको रौनकले भरिपूर्ण बनाएको छ। लोककथाअनुसार पाञ्चाल देश (हालको पनौती) का सूचन्द्र महाजनले पहिलोपटक योमरी बनाएको र त्यसपछि यो पर्व देशभर फैलिएको विश्वास समुदायमा जीवित छ। परम्परा, इतिहास र सामूहिक एकताको प्रतीक योमरी पुन्हि आज कलंकीमा झनै रंगीन र भव्य रूपमा मनाइँदैछ।


प्रतिक्रिया