मास मिडिया संवादाता (काठमाडौँ)- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक समेत रहेका उर्जामन्त्री कुलमान घिसिङबीच पार्टी एकताका लागि कसरत तीव्र बनेको छ। राजनीतिक स्रोतका अनुसार तीनै जनाबीच भावी राजनीतिक संरचना, नेतृत्व मोडेल र साझा एजेन्डाबारे अनौपचारिक छलफलहरू चलिरहेका छन्। उनीहरूबीच सम्भावित नयाँ दल वा गठबन्धनको रूपरेखा तय गर्ने विषयमा प्रारम्भिक सहमति खोजिँदैछ।
छलफलमा भावी प्रधानमन्त्री, पार्टी अध्यक्षलगायतका केन्द्रीय जिम्मेवारीको बाँडफाँड र नेतृत्वको कार्यविभाजन मुख्य विषय बनेको बुझिएको छ। सुशासन, पारदर्शिता, सेवा प्रवाहको सुधार र प्रणालीगत परिवर्तनलाई साझा आधार बनाउँदै संगठन विस्तार, निर्वाचन रणनीति र नीति प्राथमिकतामा समेत विचार-विमर्श भइरहेको बताइन्छ। यद्यपि, औपचारिक घोषणा वा लिखित सहमतिका विषयमा भने अझै टुंगो लागिनसकेको जनाइएको छ।
यस प्रयासलाई ‘जेन–जी’ युवापुस्ताले सक्रिय रूपमा मिलाउन चाहेको र त्यसका लागि निरन्तर पहल भइरहेको स्रोतको दाबी छ। सामाजिक सञ्जाल र नागरिक अभियानमार्फत युवाहरूले दबाब र संवादलाई अघि बढाइरहेका छन्। तीनै नेताबीच सहकार्य सम्भव भएमा समकालीन राजनीतिमा नयाँ धारा निर्माण हुनसक्ने आँकलन गरिएको छ, तर अन्तिम निर्णय आउन अझै समय लाग्ने देखिन्छ।