टुँडिखेलमा गुञ्जियो देउडा, पहिचान जोगाउने प्रयास

एमएमआई संवादाता– काठमाडौंको टुँडिखेलमा बिहीबार देउडा पर्व धुमधामका साथ मनाइएको छ। बझाङ्गी समाज काठमाडौंको आयोजनामा भएको कार्यक्रममा सुदूरपश्चिम र कर्णाली क्षेत्रका दर्जनौं युवायुवती, कलाकार र समुदायका सदस्यहरू सहभागी भएका थिए। उनीहरूले रंगीचंगी भेषभूषामा सजिएर देउडा नाच प्रस्तुत गरे। कार्यक्रमको उद्देश्य सुदूरपश्चिम र कर्णालीको मौलिक भाषा, संस्कृति र पहिचानलाई राजधानीमा समेत जीवित राख्नु रहेको आयोजकहरूले जनाए। काठमाडौंमा बसेर पनि आफ्नो मूल पहिचान भुल्न नहुने सन्देश दिन कार्यक्रम आयोजना गरिएको हो।

हरेक वर्ष साउन १ गते देउडा पर्व कर्णाली र सुदूरपश्चिममा विशेष उत्सवका रूपमा मनाइन्छ। यस दिन गाउँघरमा सामूहिक रूपमा देउडा गाउने, नाच्ने र रमाइलो गर्ने परम्परा रहिआएको छ। यस्तै परम्परा राजधानीमा पनि पुनः सजीव बनाउने प्रयास गरिएको आयोजकहरूले बताए। कर्णाली प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिँदै प्रदेशभर देउडा पर्व मनाउन आग्रह गरेको थियो। राजधानीमा बस्ने सुदूरपश्चिम र कर्णालीका समुदायले यो अवसरलाई पहिचानको उत्सवका रूपमा मनाएका छन्, जसले युवा पुस्तालाई आफ्नै संस्कृति र भाषा सँग जोडिराख्न सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

प्रतिक्रिया