सपना देखाएर होइन, साकार बनाएर बिदा हुँदै रेनु दाहाल

मास मिडिया संवादाता (काठमाडौँ)– नौ वर्षअघि जब रेनु दाहाल भरतपुरको नेतृत्व गर्न अघि सर्दै थिइन्, उनको परिचय धेरैका लागि ‘प्रचण्डकी छोरी’मै सीमित थियो। तर आज, जब उनी बिदा हुने चरणमा छिन्, उनको परिचय विकास, परिश्रम र परिणामसँग जोडिएको छ।

धुलाम्य सडक, साँघुरो राजमार्ग र जीर्ण विद्यालय भवनले थलिएको भरतपुरलाई नयाँ जीवन दिन उनले रातदिन नभनी गरेको संघर्ष भरतपुरवासीका मनमा अमिट बनेर रहनेछ। उनले देखाएको नेतृत्वले भरतपुरलाई मात्र होइन, देशभर विकास सम्भव छ भन्ने विश्वास पनि जगाएको छ। फराकिला र चिल्ला सडकहरू, राति पनि उज्यालोले झलमल्ल भएको भरतपुर, अनि शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनका क्षेत्रमा देखिएका परिवर्तनहरू—यी सबै रेनु दाहालका त्यस्ता कर्म हुन्, जसलाई भरतपुरले कहिल्यै बिर्सन सक्दैन। कुनै समय वर्षातको रात परेपछि नारायणी तटीय क्षेत्रका बासिन्दा निद्राहीन हुन्थे, त्रास र चिन्तामै रात बित्थ्यो। आज भने त्यही वर्षायामका रातहरू शान्त भएका छन्, र लाग्छ—अब उनीहरू निश्चिन्त निद्रामा पनि रेनुलाई सम्झँदै निदाउने समय आएको छ।

झण्डै नौ वर्षअघि, विसं २०७४ सालमा भरतपुर आइपुग्दाको क्षण सम्झँदै दाहाल भावुक हुँदै भन्छिन्, “वैशाख ३० गते देशभरका ७५३ स्थानीय तहमा पहिलोपटक निर्वाचन हुँदै थियो। भरतपुर महानगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दिएर जनताको घरदैलोमा पुग्दा देखिएका अनुहार, सुनेका आवाज र पाएको हौसला आज पनि मेरो मनमा ताजै छन्।” ती दिनहरूले आजको भरतपुरको सपना बुनेका थिए, जुन सपना उनले कर्म र समर्पणबाट साकार बनाइन्।

उनी भावुक हुँदै थप्छिन्, “वैशाखको उखरमाउलो गर्मीमा पश्चिम चितवन सुक्खा थियो। मकैका बिरुवाहरू सुक्न थालेका थिए। नजिकै नारायणी बगिरहेको भए पनि, बर्खामै पानी आउने नहर मात्र थियो—हिउँद र गर्मीमा सधैँ सुक्खा।” ती दृश्यहरू आज पनि उनको मनमा गहिरिएर बसेका छन्, जसले उनलाई थाक्न कहिल्यै दिएनन्।

भरतपुरको विकासका लागि आफ्नो जीवनको अमूल्य एक दशक समर्पण गरेको स्मरण गर्दै उनी भन्छिन्, “मैले मेरा निजी चाहना र स्वार्थहरू पन्छाएँ। हरेक समय, अविरल, अनवरत र निरन्तर भरतपुरकै विकास र यहाँका जनताको सुख–दुःखमा आफूलाई एकाकार गराएँ।” यही समर्पणको अनुभूति भरतपुरवासीले पनि गरेको उनको दृढ विश्वास छ।


भरतपुरप्रतिको मायाले आफूलाई काठमाडौं बस्न नदिएको बताउँदै उनी गर्वका साथ भन्छिन्, “न त निजी जीवनमा रमाउन पाएँ, न त आफ्नै कामका लागि समय छुट्याएँ। सारा समय भरतपुरको उन्नति, प्रगति, समृद्धि र विकासमै खर्चिन पाएकोमा मलाई आत्मसन्तुष्टिको अनुभूति हुन्छ।” यी क्षणहरू आफ्ना जीवनका सधैँ स्वर्णिम स्मृतिका रूपमा रहने उनको विश्वास छ।

अन्त्यमा उनी आशा र गर्व मिसिएको स्वरमा भन्छिन्, “आज हामीसँग बदलिएको भरतपुर छ—विकसित भरतपुर, समृद्ध भरतपुर, हरियाली र उज्यालोले भरिएको भरतपुर।”

प्रतिक्रिया