मास मिडिया संवादाता— कलंकी क्षेत्रका नेवार लगायत मिश्रित समुदायले यस वर्षको म्हः पूजा सामूहिक रूपमा सम्पन्न गरेका छन्। कलंकी माँ नेवाः पुचः येंद्वारा आयोजना गरिएको कार्यक्रममा ५० भन्दा बढी सहभागीहरूले परम्परागत विधिअनुसार आत्मा र शरीरको पूजा गर्दै दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गरेका थिए। कार्यक्रम बिहिबार साँझ न्यूदँया भिंतुना ११४६ को अवसर पारेर धार्मिक उत्साहका साथ सम्पन्न भएको थियो। ज्येष्ठ महिलाहरूको पूजाआरम्भसँगै सहभागीहरूले आ–आफ्नो मण्डप तयार गरी खेलुइता बाल्दै सगुन ग्रहण गरेका थिए।
कार्यक्रमको मुख्य आकर्षण मण्डल तयार गर्ने परम्परागत शैली र सामूहिक सहभागिता थियो। रातो माटो, चामलको पीठो, पाँच रङका कपडा र पवित्र दीप–ज्योतिले सजिएको मण्डलमा सहभागीहरू एकै पङ्क्तिमा बसेर विधिवत् पूजामा सहभागी भए। पूजाको क्रममा अण्डा, माछा, फलफूल, फुलमाला र तामाका सगुन सामग्री वितरण गरिएको थियो। प्रत्येक सहभागीले आफ्ना हातमा सगुन लिएर निधारमा टिका र फूल अर्पण गर्दै आत्मशुद्धि र आत्मबलको प्रतीकात्मक अभ्यास गरे। यस्तो पूजा, नेवार संस्कृति अनुसार, आत्मा र शरीरप्रतिको श्रद्धा, आत्मचेतना र आत्म–पवित्रताको अभिव्यक्ति मानिन्छ।
आयोजक संस्था कलंकी माँ नेवाः पुचः येँ का अनुसार, सामूहिक म्हः पूजाको उद्देश्य नेवार सांस्कृतिक पहिचानलाई सशक्त बनाउनु र नयाँ पुस्तामा परम्परागत मूल्यहरूको पुनःस्थापना गर्नु हो। समुदायबीच सहकार्य, सामाजिक एकता र सांस्कृतिक पुनरुत्थानका लागि यस्ता कार्यक्रमहरू नियमित रूपमा आयोजना गरिँदै आएका छन्। आगामी वर्षहरूमा अझ ठूलो संख्यामा सहभागिता सुनिश्चित गर्ने र पूजालाई सांस्कृतिक उत्सवका रूपमा विस्तार गर्ने योजना समेत रहेको संस्थाले जनाएको छ। यसरी सम्पन्न सामूहिक म्हः पूजाले नेवार समुदायमा आत्म–स्मरण, साझा पहिचान र सांस्कृतिक एकताको सन्देश दिएको छ।