एमएमआई संवादाता– पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी नेतृ विद्यादेवी भण्डारीले पार्टीको विधान महाधिवेशनमा सहभागी हुने विषयमा केन्द्रीय कमिटीको निर्णयअनुसार अघि बढ्ने स्पष्ट पारेकी छन्। उनले अहिले सक्रिय राजनीतिमा पुनरागमन गरिसकेको बताउँदै पार्टीको निर्णयप्रति आफू पूर्णतः जिम्मेवार रहने उल्लेख गरेकी छन्। विगतमा राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी भण्डारी हाल पुनः पार्टीभित्र सक्रियरूपमा देखिन थालेकी हुन्।
उनले आगामी भदौको तेस्रो सातामा हुने विधान महाधिवेशनमा आफू आमन्त्रित प्रतिनिधिका रूपमा सहभागी हुने वा अन्य कुनै भूमिकामा रहने भन्ने निर्णय पार्टीको केन्द्रीय तहले गर्ने जनाएकी छन्। यसप्रकारको संयमित र अनुशासित अभिव्यक्तिबाट उनले पार्टीप्रति आफ्नो प्रतिबद्धता देखाएकी छन्। भण्डारीको राजनीतिक पुनरागमनसँगै एमालेभित्रको नेतृत्व तहमा नयाँ चर्चा सुरु भएको देखिन्छ।
भण्डारीको सक्रियता पुनः बढ्दै जाँदा पार्टीभित्रको भूमिका र भविष्यको राजनीतिक पाटोबारे विभिन्न अड्कलबाजीहरू चल्न थालेका छन्। उनले विधान महाधिवेशनको अवसरलाई एउटा ‘संगठित पुनर्स्थापनाको’ रुपमा लिने संकेत पनि गरेकी छन्। पार्टीभित्रको लामो अनुभव र नेतृत्व क्षमताका कारण उनको उपस्थिति निर्णायक बन्न सक्ने आँकलन गरिएको छ।