MMI संवादाता- सरकारले दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुन नआउने सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए ।फेसबुक, ट्वीटर (हाल एक्स), युट्युब लगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्दै उक्त निर्णय सार्वजनिक गरेको हो। मन्त्रालयले भनेको छ कि सामाजिक सद्भाव, राष्ट्रिय सुरक्षाका साथै नीतिगत दिशानिर्देशनअनुसार नियमनबिना सञ्चालनमा रहेका सञ्जालहरू नियन्त्रण गर्न यो कदम चालिएको हो।
सरकारको यो निर्णयले देशभर चर्को बहस सुरु गराएको छ। एकातिर यसले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने डर देखाइएको छ भने अर्कातिर अनियन्त्रित सामग्री र गलत सूचनाको नियन्त्रण आवश्यक भएको तर्क पनि उठाइएको छ। अब आगामी दिनमा यी सञ्जालहरू पूर्णरूपमा बन्द हुने वा नियमनसहित पुनः सञ्चालनमा आउने भन्ने विषयमा प्रष्टता आउन बाँकी छ।
