मास मिडिया संवादाता (काठमाडौँ)– पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैद सुनाएको रौतहट जिल्ला अदालतको फैसलालाई उल्ट्याउने न्यायाधीशहरू खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन सुरु भएको छ। बम विस्फोटको प्रमाण नष्ट गर्न घाइतेलाई जिउँदै इँटाभट्टामा फालिएको गम्भीर अभियोगसम्बन्धी उक्त मुद्दामा फैसला उल्ट्याएपछि ती न्यायाधीशहरूको भूमिका शंका उत्पन्न गर्नेगरी सार्वजनिक भएपछि छानबिन प्रक्रिया अघि बढाइएको हो।
परिषद् स्रोतका अनुसार न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनलाई बिहीबारदेखि इजलासमा नबस्न निर्देशन दिइएको छ। उनीहरूलाई सर्वोच्च अदालतमा उपस्थित हुन भनिएको छ। सो प्रकरणमा थप छानबिन गर्न न्यायाधीश विनोद शर्माको अध्यक्षतामा विशेष समिति गठन गरिएको छ।
रौतहट जिल्ला अदालतले गएको वर्ष असारमा पूर्वमन्त्री मोहम्मद आफताब आलमसहित तीनजनालाई १७ वर्षअगाडि, २०६४ चैत २७ गते भएको बम विस्फोटमा घाइते भएका त्रिलोकप्रताप सिंह (पिन्टु) र ओसी अख्तरलाई इँटाभट्टामा जिउँदै जलाएको अभियोगमा जन्मकैदको सजाय सुनाएको थियो। सो फैसलाविरुद्ध परेको पुनरावेदनमा जेठ १४ गते सर्वोच्च अदालतका न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएको हो। सोही दिन नख्खु कारागारमा रहेका आलम रिहा भएका थिए।