काठमाडौँ क्षेत्र नम्बर ९ मा श्रम संस्कृति पार्टीबाट बलराम श्रेष्ठको बलियो दावेदारी

मास मिडिया संवादाता (काठमाडौँ)- काठमाडौँ क्षेत्र नम्बर ९ मा आगामी प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रमा राख्दै राजनीतिक सरगर्मी तीव्र बन्दै गएको छ। यसै क्रममा श्रम संस्कृति पार्टीका तर्फबाट उम्मेदवार बनेका बलराम श्रेष्ठको दावेदारीलाई स्थानीय स्तरमा अर्थपूर्ण रूपमा हेरिएको छ। लामो समयदेखि सामाजिक अभियानमा सक्रिय रहँदै आएका श्रेष्ठको उम्मेदवारीलाई वैकल्पिक र विचारप्रधान राजनीतिका रूपमा प्रस्तुत गरिएको छ। क्षेत्र नम्बर ९ का विभिन्न समुदाय, पेशागत समूह र युवामाझ उनको नाम चर्चामा रहेको छ । 

बलराम श्रेष्ठ सामाजिक अभियन्ताका रूपमा परिचित छन्। उनी पर्व समय सुधार राष्ट्रिय समाज नेपालका महासचिव हुन् भने कलंकी माँ नेवा पुचः येँका पदाधिकारीका रूपमा पनि क्रियाशील छन्। स्थानीय संस्कार, परम्परा र सामुदायिक एकतामा आधारित गतिविधिमा उनको निरन्तर सहभागिता रहँदै आएको छ। समाजसेवाको माध्यमबाट उनी जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्दै आएका कारण उनको उम्मेदवारीलाई व्यवहारिक अनुभवसहितको राजनीतिक यात्रा भनेर विश्लेषण गरिएको छ।

प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित विकासको अवधारणालाई अघि सार्दै भर्खरै खुलेको श्रम संस्कृति पार्टीबाट श्रेष्ठले शैक्षिक तथा सांस्कृतिक बहसहरूमा समेत आफ्नो उपस्थिति जनाउँदै आएका छन्। उनी श्रम संस्कृत पार्टीको तर्फबाट प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ ९ बाट उम्मेदवार बनेका हुन्। परम्परागत मूल्य र आधुनिक प्रविधिको समन्वयमार्फत् समृद्ध समाज निर्माण गर्ने उनको एजेन्डा रहेको छ। यही विचारधारात्मक धरातलका कारण उनलाई बौद्धिक तथा सांस्कृतिक क्षेत्रबाट पनि साथ मिल्ने अपेक्षा गरिएको छ।

काठमाडौँ ९ विविध समुदाय, व्यवसायी, कर्मचारी, मजदुर तथा युवा मतदाताको मिश्रित बसोबास रहेको क्षेत्र हो। यहाँ विकास, रोजगारी, सांस्कृतिक संरक्षण र शहरी व्यवस्थापन मुख्य चुनावी मुद्दाका रूपमा उठ्दै आएका छन्। श्रेष्ठले स्थानीय स्रोतको परिचालन, सांस्कृतिक सम्पदाको संरक्षण र पारदर्शी शासकीय अभ्यासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मतदातामाझ घरदैलो कार्यक्रम, अन्तरक्रिया र सामुदायिक भेटघाटमार्फत् उनी आफ्नो एजेन्डा प्रस्तुत गरिरहेका छन्।

स्थानीय स्तरमा गरिएको अनौपचारिक बुझाइअनुसार काठमाडौँ ९ का मतदाताले वैकल्पिक राजनीतिक धारप्रति चासो देखाएको संकेत मिलेको छ। सामाजिक सेवामा निरन्तर सक्रियता, सामुदायिक संस्थामा नेतृत्वदायी भूमिका र विचारप्रधान एजेन्डाका कारण बलराम श्रेष्ठको दावेदारी विजयमा परिणत हुन सक्ने आकलन गरिँदै आएको छ। यद्यपि अन्तिम निर्णय मतदाताको मतबाट नै हुने भएकाले चुनावी प्रतिस्पर्धा रोचक बन्ने देखिन्छ। आगामी निर्वाचनले काठमाडौँ ९ को राजनीतिक दिशानिर्देश कस्तो हुने भन्ने स्पष्ट पार्नेछ।



प्रतिक्रिया